कार्मु लामा हुम्लाः
नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ । जिल्लाका ७ वटा नै स्थानीय तह गाउँपालिकाबाट सिमकोटमा मेला हेर्नेको हजारौं संख्यामा उपस्थिति रहने गरेको छ ।
दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपरान्हतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको पाइएको छ । विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको त्रासकै बीच हुम्लामा साउने पुर्णीमाको रौनक शुरु भएको छ ।जनैपूर्णिमाको अवसरमा हुम्लामा मेला लागेको छ ।
हिमाली जिल्ला हुम्लामा साउने पूर्णिमाको अवसरमा सिमकोट गाउँपालिका स्थित वडा नम्बर ६ को कालाशिल्ताको माडुमा देवतामा विशेष पूजा हुने गर्दछ । एकदशीबाट ब्रत बसेका ‘धामी’हरु विशेष गरि त्रयोदशीबाट नाँच्न सुरु गर्दछन् । सोमबार बिहानैबाट कालाशिल्ता तथा बाँडपालको माडु मन्दिरमा पूजा गर्ने, होम गर्ने र दिउँसो धामी नाँच्ने गरिन्छ । माडुमा पुग्नु अगाडि स्यनान र घरमा रहेको माडुहरुमा पनि धामीहरु मिलेर नाँच्ने गर्छन्।
पूजाआजासहित साउने पुर्णिमामा नयाँ कपडा लगाउने, मिठो खानाका परिकार आफन्तलाई बोलाएर खुवाउने र राती देउडा पनि खेलिन्छ। जिल्लाको प्रसिद्ध चाड साउने पूर्णिमा हुम्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाइएको छ । धर्मले हिन्दू मान्ने भएता पनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइएको छ । हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ ।
मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडको रूपमा यो पर्व चिनिने गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ । जिल्लाका अन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने सिमकोटमा त्रियादशीको दिनदेखि १ हप्तासम्म धुमधामले मनाउने चलन रहेको छ ।