हुम्ला
जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो ।
सीता माध्यामिक विद्यालयका प्रधानाध्यापक जुनराज हमालले गाउँपालिकाको निर्णय अनुसार आईतबार बिहानी सिफ्टबाट पठन पाठन सुरु भएको बताएका छन् । बिधार्थीको चाप बढी भएको कारण सामाजिक दुरी कायम गर्न विद्यालयले बिहानी र दिउसो गरि दुई सिफ्टमा पठन पाठन गरेको हो ।
प्रधानाध्यापक हमालका अनुसार बिहान कक्षा छ देखि दश र दिउसो कक्षा एक देखि पाँचसम्मको पठन पाठन भएको छ । गत चैत्र ४ गतेसम्म विद्यालयमा पठन पाठन भएको थियो । त्यसयता कोरोना संक्रमणको कारण विद्यालय बन्द भएकोमा आईतबार बिधार्थीको संख्या उल्लेखनिय रहेको विद्यालयले जनाएको छ ।
उक्त विद्यालयमा बिधार्थीका साथै सबै शिक्षकहरुको पनि उपस्थिती भै सकेको छ । गत असार २५ गते खार्पुनाथ गाउँपालिकाले सबै विद्यालयमा पठन पाठन सुरु गर्ने निर्णय गरेको थियो ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार बन्दाबन्दी खुकुलो हुनु र कोरोना संक्रमणको त्रास कम हुदै गएपछि सबैतिर बुझेर कार्यपालिकाले पठन पाठन सुरु गर्ने निर्णय गरेको हो । आईतबारबाट गाउँपालिका भित्रका १७ वटा बिद्यालय मध्य चार वटा मावि र १३ वटा आधारभुत विद्यालयमा पठन पाठन भएको अध्यक्षले बताएका छन् ।
विद्यालयमा बाहिरका शिक्षक नआएको भएपनि स्थानीय शिक्षकहरुले सामाजिक दुरी कायम गर्दै र अन्य सुरक्षणका बिधि अपनाएर पठन पाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ । कोरोना कहरका बिच विद्यालय सञ्चालन गर्ने हुम्लाको पहिलो गाउँपालिका खार्पुनाथ भएको छ ।
यसअघि विद्यालयमा स्थापना भएको क्वारेन्टिनहरुको निमुर्लीकरण गरिएको थियो । जसका लागि सेनिटाईजिङ गर्ने, सफा गर्ने र झारपात पन्छाउने कार्य भएको थियो । यता नाम्खा गाउँपालिकाले साउन ११ गतेबाट पठन पाठन सुरु गर्ने जनाएको छ भने अन्य सिमकोट सहित पाँच वटाले भने पठन पाठनका बारेमा केही निर्णय गर्न सकेको छैनन् ।
हुम्लामा नयाँ शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुन्छ । यस अघि भर्ना अभियान सञ्चालन भै रहेको छ भने बिधार्थीको हातमा पाठ्य पुस्तक पुगि सकेका छन् ।