आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनको कार्य तालिका अन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले जानकारी छन् । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म गरी त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरी माथि छानबिन मङ्सिर ४ गते गरिने छ ।
उजुरीमाथिको छानबिन पछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बराललको भनाइ रहेको छ । यसैबिच, उपनिर्वाचनका लागि सर्केगाड गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले उम्मेदवार घोषणा गरेर घरदैलो अभियान र गाउँसभा गर्न थालेका छन् ।