हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका सोमबारबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। सिमकोट गाउँपालिका वडा नं ५मा रहेको मानसरोवर बहुमुखि क्याम्पसमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। त्यसै गरी साक्षर गाउँपालिका पनि घोषणा गरिएको छ ।
पुर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषणा कार्यक्रमको अध्यक्षता सिमकोट गाउँपालिकाका कार्यवाह अध्यक्ष सुसिला रोकायाको र प्रमुख आतिथ्य कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको रहेको थियो । विशेष आतिथ्यमा कर्णाली प्रदेशका सामानुपातिका संसद वीजया बोहरा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिह, सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल प्रहरी नाय उपरिक्षक भिमलाल भटराइ लगाएतका व्यक्तीहरुको रहेको थियो ।
सबै लक्षित बालबालिकाले जन्मे देखि १५ महिना र १६ देखि २३ महिना भित्रै पूर्ण खोप प्राप्त गरी सुरक्षित हुन् भन्ने अभिप्रायले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने कार्यक्रम ल्याइएको हो । यस कार्यमा नियमित र गुणस्तरीय खोप सेवा उपलब्ध गराउन स्थानीय स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका रहन्छ भने प्राप्त सेवालाई निरन्तर उपभोग गर्नु समुदायको दायित्व रहन्छ ।
हालसम्मको प्राप्त उपलब्धीलाई कायम राखी खोपबाट छुट भएका सबै बालबालिकालाई पुरा खोप पाउने वातावरण बनाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने निति बमोजिम सिमकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेकोमा सोही कार्यक्रमका प्रमुख अतिथि एव पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिकाका सबै वडामा रहेका खोप लगाउनुपर्ने उमेर समूहका बालबालिका खोपको पहुँचमा पुगेपछि घोषणा गरिएको हो। जसमा जन्मेदेखि १५ महिना र १६ देखि २३ महिनाका बालबालिकालाई सात पटक भेटेर १३ वटा खोप लगाउने कार्य गरिए पछि गाउँपालिकालाइ पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष शुसिला रोकाया बताएकी थिइन ।
गाउँपालिकाका सबै वडामा साक्षर शिक्षक खटाइ साक्षर कक्षा संचालन गरे पछि सिमकोट गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरीएकोमा धन्यवाद दिदै र पुर्ण खोप सुनिश्चितता मात्रै घोषणा गरे नहुने सबै वडामा रहेका बालिबालिकालाई खोप लगाउने कार्य निरन्तर हुनु पर्ने प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल बताएका थिए ।
आफ्नो गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्यका लागी बजेट बढी बिनियोजन गर्नु पर्ने, खोप सुनिश्चित गाउँपालिका घोषणा सिमकोट गाउँपालिले गरेको शुभकामना सम्पुर्ण गाउँपालिकाको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दिएका थिए ।
गाउँपालिकाले केही समयअगाडि खोप अभियान सञ्चालन गरेर महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेको थियो भने त्यसपछि स्वास्थ्यकर्मी पनि अनुगमनमा गएका थिए। जिल्लाका सात वटा गाउँपालिका मध्ये सर्केगाड, नाम्खा, खार्पुनाथ, अदानचुली, ताँजाकोट गाउँपालिकाले यसअघि नै पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिसकेको छन ।