कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं १ र २ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को दोश्रो कार्यक्रम सिमकोट गाउँपालिकाको रामदेव माध्यामिक विद्यालय ठेहेमा संचालन गरेको सोही स्वास्थ्य केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताएका छन् ।
शनिवार विहान १० वजेबाट सुरु भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा महिला १ सय ३ र पुरुष ८८ गरी जम्मा १ सय ९१ जनाले उपचार पाएको प्रमुख जोसीले बताएका छन् । निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ग्याष्टिक, राँगन, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचाप, कव्जित, पाइल्स, हात खुट्टा दुख्ने तथा झमझमाउने, टाउको दुख्ने, निद्रा नलाग्ने रोगको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख कृष्ण चन्द्र जोसीले बताएका छन् ।
स्वास्थ्य शिविर विहान १० वजेबाट सुरु गरी वेलुका ५ वजे सम्पन्न गर्ने भनीए पनि विरामीको चाप वढेकाले वेलुका साढे ६ वजे सम्म संचालन गर्नु परेको जोसीले बताएका छन् । निशुल्क शिविरमा महिलाको संख्या वढी भएको र ति महिलाहरुलाई महिनावारी गडवढी, सेतो तथा रानो खुन बग्ने समस्या बालबालिका सम्बन्धी रोगहरु र स्तनपायी आमा तथा बच्चाहरुलाई दुध नाउने समस्याको उपचार गरीएको र जेष्ठ नागरिकहरुलाई रसायन औषधी वितरण गरिएको जानकारी प्राप्त भएको छ ।