सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ। नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो। यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए। हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ।
अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ। चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्ने छ। यसअघि सिमकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो । त्यसैगरि जुम्लामा नेपालगंजबाट सोमबार र मंगलबार उडान हुनेछ। भाडादर पनि ६ हजार २८० रुपियाँ तोकिएको छ।त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ।
डोल्पाको जुफालका लागि हप्तामा दुई दिनमा सोमबार र बुधबार उडान हुनेछ। भाडादर नेपालगंजबाट डोल्पाका लागि ६ हजार ८०५ रुपैयाँ निर्धारण गरिएको छ।बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ। नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ।यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगंजमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ। उडान पनि नियमित रुपमा भइरहेको र यात्रुहरुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ।