बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ। बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा बाबुआमाको समान दायित्व हुन्छ तर बाबुआमाको सम्बन्ध विच्छेद भएको वा अन्य कुनै कारणले अलग बसेको अवस्थामा बालबालिकाको पालनपोषणको खर्च आर्थिक क्षमता अनुसार बाबु आमा दुवैले व्यहोर्नु पर्छ।
ऐनको दफा ६ अनुसार कुनै पनि बालबालिकालाई निजको इच्छा विपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुँदैन। यस ऐनबमोजिम बालकल्याण आधिकारी वा बाल अदालतले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी व्यवस्था गर्दा, बालबालिकालाई बाबुआमा वा संरक्षकबाट अलग गर्नु पर्दा बाबु आमाको सम्बन्ध विच्छेद भई छोराछेरीको हेरचाह वा पालनपोषण कसले गर्ने भन्ने निर्णय गर्दा तोकिएबमोजिमको उच्चतम हित निर्धारण प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७५ को दफा ११४ अनुसार पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए त्यस्तो बच्चाको जिम्मा लिने हक आमाले चाहेमा आमाको नै हुन्छ । बच्चा पाँच वर्षभन्दा कम उमेरको हुँदा आमाले अर्को विवाह गरे पनि बच्चाको हक आमामै जान्छ। बच्चाको उमेर पाँच वर्षभन्दा माथिको छ भने आमाले अर्को विवाह नगरेको अवस्था हो भने आमाकै हक लाग्छ तर आमाले अर्को विवाह गरिसकेको अवस्थामा बच्चाको हक बुबालाई जान्छ।
पतिपत्नी बीचमा पहिले नै बच्चा कोसँग राख्ने भन्ने सल्लाह भइसकेको अवस्था हो भने पतिपत्नीको सल्लाह बमोजिम नै हुन्छ। बच्चाको उमेर दस वर्ष भइसकेको अवस्था हो भने निजले आमा, बाबुमध्ये जोसँग बस्न मन्जुर गरेको छ बच्चालाई निजकै जिम्मा लगाउने कानुनी व्यवस्था रहेको छ। आमा र बुवा भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेटघाट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिका लागि साथमा बस्न दिनुपर्छ तर भेट्दा मात्रै पनि बच्चामा प्रतिकूल असर पर्ने देखिएमा अदालतले भेट गर्न प्रतिबन्ध लगाउन सक्छ।