राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायले जिल्लाका पुजीगत खर्च पैतालीस दशमलव पैतालीस प्रतिशत मात्र खर्च भएको बताएका छन् । उनले संघीय सरकार अन्र्तगतका बिकासे कार्यालयहरुले कुल जिल्लाको पुजीगत बजेट ५५ करोड बिनियोजित भएको मध्य २५ करोड मात्र खर्च भएको बताएका छन् । यसमा तीस करोड बजेट फिर्ता गएको छ ।
कुल बिनियोजित बजेट मध्यको ४६ करोड बजेट हिल्सा सिमकोट सडक आयोजनाको मात्र रहेकोमा सो आयोजनाले १७ करोड ६६ लाख मात्र खर्च गर्न सकेको छ । आयोजनाको २८ करोड १७ लाख बजेट खर्च हुन सकेको छैन् । खर्च हुन नसकेको मध्य अधिकाँस बजेट उक्त आयोजनाको मात्र रहेको छ । आयोजनाले यसरी बिकास बजेट खर्च हुन नसक्नुमा निर्माण कम्पनीले समयमै काम नगर्नु बहुबर्षीय योजना हुन, हवाई मार्गबाट निर्माण सामाग्री ढुवानी गर्न समस्या हुनु जस्ता कारण रहेको जनाएको छ ।
बाँकी एक करोड ८३ लाख अन्य बिकासे कार्यालयहरुको रकम खर्च हुन सकेको छैन् । प्रमुख उपाध्यायले अब यो बजेट फिर्ता जाने बताउनुभयो । जानकारहरुका अनुसार जिल्लाको पुँजीगत बित्तिय प्रगति सबै भन्दा कम खर्चको पो पहिलो पटक हो । यसअघि साठीदेखि सत्तरी प्रतिशत खर्च हुने गरेको थियो । यता चालुतर्फ भने कुन बिनियोजित बजेट तीन अर्ब २८ करोड मध्य तीन अर्ब एक करोड खर्च भएको छ । यसमा पनि २७ करोड बजेट फिर्ता गएको पाईएको हो ।