दुर्गमको स्वास्थ्य चौकी र सामुदायीक अस्पतालबाट एक साथ महिलाहरुका लागि परिवार नियोजनका साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको छ । गाउँपालिकामा दुई जना तालिम प्राप्त जनशक्तिको ब्यवस्था भएपछि सो सेवा दिन सुरु गरिएको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका – ३ को राया स्वास्थ्य चौकीबाट महिलाहरुका लागि परिवार नियोजनका अस्थायी साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको स्वास्थ्य चौकी ईन्चार्ज बिरसिंह रावलले जानकारी दिए ।
जनशक्ति नभएको कारण यसअघि उक्त स्वास्थ्य चौकीबाट सो सेवा दिने गरिएको थिएन । उनले उक्त साधन प्रयोग गर्न चाहे सदरमुकाम सिमकोट स्थित अस्पताल जानु पर्ने यस अघि समस्या रहेको भए पनि अब सो सेवा उक्त स्वास्थ्य चौकीबाट दिन थालिएपछि महिलाले जिल्लामा जानु पर्ने बाध्यता हटेको बताएका छन ।
खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले दुई जना तालिम प्राप्त जनशक्तिको ब्यवस्था भएपछि आबश्यकता पर्ने महिलाहरुलाई इम्पलान्ट सेवा सामुदाइक अस्पताल र एक स्वास्थ्य चौकीबाट दिन सुरु गरिएको बताए । उनले परिवार नियोजनको अस्थायी साधन पाँच वर्षका लागि महिलाहरुले सो सोवा लिन सुरु गरेको बताएका छन ।
यसबाट महिलालाई स्वास्थ्य चौकीमा सेवा लिन सहज, सिमकोट धाउन नपर्ने, समय बचत र आर्थिक व्ययभार पनि कम हुनेछ । गतवर्ष जिल्लाबाट तालिम प्राप्त जनशक्ति झिकाएर इम्पलान्ट क्याम्प सञ्चालन गरेको बताउदै उनले अब गाउँपालिकाका १३ वटै स्वास्थ्य संस्थाहरुमा आबश्यक परेको सेवा दिन सकिने बताएका छन । यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले दुई जना जनशक्तिलाई तालिमको ब्यवस्था गरेको थियो । सेवा निशुल्क रुपमा प्रदान गरिनेछ ।