हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका समेत सार्वजनिक गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाले आज मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी सर्वपछिय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । यस अघि निर्वाचन कार्यालयले मृत्यु भएका, ठाउ सारी लगाएतको लगत संकलनका लागी कर्मचारी परिचालन गर्ने गरेकोमा यो पटक स्थानिय तहको निर्वाचनको समय छोटो भएकाले उक्त कार्यका लागी कर्मचारी नखटाउने भएको छ ।
मतदाता नामवली सम्बन्धीत गाउँ पालिका तथा वडा पालिकाको कार्यालयमा टाँस गरिनेछ । उक्त नामावली टाँस भइ सके पछि सम्वन्धीत वडा पालिकाले मृत्यु भएका, ठाउँ सारेका व्यक्तीको लगत संकलन गरि जिल्ला निर्वाचन कार्यालयमा पठाइ निजको नाम हटाउन सक्ने भएको हो । त्यसै गरी मृत्यु भएको वा ठाउँ सारी गरेका व्यक्तीको हकमा निज आफै वा निजका एका घरका व्यक्तीले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि हटाउन सक्ने भएको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताएका छन्।
स्थानिय तहको निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकासन फागुन १९ गते गर्ने भएको छ । सोही अनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने समय फागुन २० गते देखि २२ गते सम्म रहेको छ ।मतदाता नामावलीमा कसैले झुठ्ठा बिबरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी फागुन २० गते देखि २२ गते सम्म प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा दिईने मतदाता नामावली ऐन २०७३ को दफा १५ मा व्यवस्था गरिएको छ ।
हुम्ला जिल्लामा ५२ वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ताँजाकोट गाउँ पालिकामा ५ वटा मतदान केन्द्र, अदानचुली गाउँ पालिकामा ६ वटा मतदान केन्द्र, खार्पुनाथ गाउँ पालिकामा ५ वटा मतदान केन्द्र, चंखेली गाउँ पालिकामा ६ वटा मतदान केन्द्र, नाम्खा गाउँ पालिकामा ६ वटा मतदान केन्द्र,सर्केगाड गाउँ पालिकामा ८ वटा मतदान केन्द्र र सिमकोट गाउँ पालिकामा ८ वटा मतदान केन्द्र रहेका छन् ।
अदानचुली गाउँ पालिकामा ४ हजार ७ सय २८ मतदाता, खार्पुनाथ गाउँ पालिकामा ४ हजार ८४ मतदाता, चंखेली गाउँ पालिकामा ३ हजार ६ सय ९३ मतदाता, ताँजाकोट गाउँ पालिकामा ३ हजार ७ सय ७८ मतदाता, नाम्खा गाउँ पालिकामा ३ हजार १ सय ८४ मतदाता, सर्केगाड गाउँ पालिकामा ६ हजार ६ सय ८८ मतदाता र सिमकोट गाउँ पालिकामा ६ हजार ६ सय ९१ मतदाता गरी जिल्ला भर जम्मा ३२ हजार ८ सय ४६ मतदाता रहेको जिल्ला निर्बाचन अधिकारी रानाले बताएका हुन।
यस पछि अध्यावधिकका क्रममा केही घटवढ हुन सक्ने भए पनि धेरै मतदाताको संख्यामा फरक नपर्ने जनाइएको छ ।
जिल्लामा स्थापित राजनैतिक दल संचारकर्मी रेडियो कर्मीले यो निर्वाचनमा कोही नछुट्ने र कोही नदोहोरिने गरी व्यापक प्रचार प्रसार गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी सिता परियारले वताएकी छन्। मतदाता नामावली अधवधिक दावी विरोध सम्बन्धीको अन्तरक्रिया कार्यक्रम सुक्रवार दिनको ३ बजे जिल्ला प्रशासन कार्यालय हुम्लामा संचालन भएको थियो ।