हुम्ला
हुम्ला वासीलाई ढुवानी अनुदानमा खाद्यान्न बिक्री बितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून भएको छ । स्थल मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी हुन नसक्नु र हवाई मार्गबाट आयात भएको खाद्यान्न बिक्री बितरण गर्नु पर्दा लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात कम भएको हो ।
हाल लिमिटेडको गोदाममा एक हजार १ सय ४२ क्वीन्टल खाद्यान्न मात्र मौज्दात रहेको लिमिटेडको हुम्ला शाखा प्रमुख निर्मल थापाले जानकारी दिएका छन् । यो मौज्दात शाखाले एक पटक बिक्री बितरण गर्दा नपुग्ने अबस्था रहेको छ । जव कि शाखाले एक पटक खाद्यान्न बिक्री गर्दा दुई हजार क्वीन्टल खाद्यान्न आबश्यक पर्छ ।
शाखाले फागुन महिनासम्मको कोटा भागको खाद्यान्न मात्र बिक्री गरेको छ । चालु आर्थिक बर्षको निर्धारित कोटाबाट ढुवानी भएको खाद्यान्न बिक्री बितरण कार्य गर्दा गोदाममा खाद्यान्न मौज्दात न्यून भएको हो । चालु आर्थिक वर्षका लागि सुर्खेत र नेपालगंजबाट हवाई मार्गबाट दश हजार क्वीन्टल खाद्यान्न निर्धारित कोटा भएकोमा नौ हजार पाँच क्वीन्टल पन्चानब्बे केजी ढुवानी भई बिक्री बितरण भएको शाखा प्रमुख थापाले बताएका छन् । उनका अनुसार अब हवाई मार्गबाट ढुवानी हुन नौ सय पञ्चानब्बे क्वीन्टल मात्र बाँकी रहेको छ ।
यता पैदल मार्गबाट नेपालगंज, सुर्खेत र धनगढीबाट एक÷एक हजार क्वीन्टल खाद्यान्न कोटा भएकोमा हालसम्म तीनै स्थानबाट गरि जम्मा आठ सय साठी क्वीन्टल मात्र ढुवानी भएको छ । बाँकी खाद्यान्न ढुवानी हुन नसकेको उहाँले बताउनुभयो । पैदल खाद्यान्न ढुवानी धेरै अगाडीदेखि हुन सकेको छैन । आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको छ ।
हवाई र पैदल गरि मार्ग गरि तीन हजार दुई सय क्वीन्टल ढुवानी हुन बाँकी रहेको कारण यसवर्ष निर्धारित कोटाको खाद्यान्न अपुग हुने देखिन्छ । चैत्र देखि असारसम्म आठ हजार क्वीन्टल खाद्यान्न आबश्यक पर्ने देखिन्छ । तर लिमिटेडको गोदाममा मौज्दात, हवाई र पैदल मार्गबाट ढुवानी हुने खाद्यान्न जोड्दा त्यो पुग्ने अबस्था छैन । यसमा खार्पुनाथ र नाम्खा गाउँपालिकालाई पनि शाखाबाटै बिक्री गरिने भएको कारण त्यो कोटाको खाद्यान्न जोडिएको छैन ।