हुम्ला
जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको हो । जिल्ला निर्बाचन अधिकारी ओम प्रकाश महतोले आयोगबाट तयार भएर आएको आचार संहिता बाचन गरेर सरोकारवाला पक्षलाई सुनाएका थिए। तयार आचार संहिताको मुख्य लक्ष स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विस्वसनीय, मितव्ययी निर्वाचन मार्फत नागरिकलाई मताधिकारको निर्वाध उपभोग गर्ने अवसर प्रदान गरि लोकतन्त्रको सुदृढिकरण र सुशासनमा योगदान पुर्याउनु रहेको उल्लेख गरिएको छ ।
छलफलमा महतोले आचार संहिता किन, आचार संहिता लागु हुने निकाय र व्यक्ति, सवैले पालन गर्नु पर्ने आचरण, आचार संहिता लागु भएपछि गर्न हुने र नहुने कार्य, राजनीति दल र उम्मेदवार तथा दलको भातृ संगठनले पालन गर्नु पर्ने आचरण, सञ्चार माध्यम प्रयोग गर्दा पालन गर्नु पर्ने कुरा, निर्वाचन खर्चको आचरण, मतदानको दिन पालन गर्नु पर्ने आचरण लगाएका विषयमा जानकारी गरेका थिए ।
छलफलमा सहभागीहरुले आचार संहिता पालन गर्नेमा सामाजिक संस्थालाई पनि समेट्नु पर्ने, हेलिकोप्टर प्रयोग गर्दा हिमाली जिल्लामा दरमा भिन्नता हुनु पर्ने र निर्बाचनको अनुगमन गर्ने निकायको एकिन गर्नुपर्ने सुझाव दिएका थिए । यी निर्बाचन अधिकारी महतोले छलफलमा सहभागीबाट आएका सुझावलाई आयोगमा पठाउने बताए । आचार संहिता बारे जानकारी गराउदै महतो प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको संयोजकत्वमा भएको अन्र्तकृया कार्यक्रममा जिल्लास्थित राजनीतिक, सुरक्षा निकाय, कार्यालय प्रमुखको सहभागी रहेको थियो । छलफल कार्यक्रममा यसअघि निर्बाचन सम्वन्धि कार्यक्रम बहिस्कार गर्दै आएको नेकपा प्रचण्ड नेपाल पक्षको पनि सहभागिता रहेको थियो ।