सुक्रबार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भइसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा नम्बर १ का गुरु तामाङ्ग र ढुकी तामाङ्ग रहेका छन् । मृतकको शब पोस्टमार्टमका लागि घटनास्थलबाट ट्याक्टरमा जिल्ला अस्पतालमा पुर्याईएको छ ।
कर्णाली करिडोरको सिमकोट हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा जीप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । लु २ च २१०२ नम्बरको बोलेरो जीप सडकबाट करिब पाँच सय मिटर तल खस्दा चार जनाको मृत्यु तथा सात जना घाइते भएको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टले बताएका छन ।मृतक लामाद्धय श्रीमान श्रीमती हुन ।
दुर्घटनामा एक बालक सहित सात जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक सम्राट भण्डारी, अजयकुमार बस्नेत, सम्झना शाही, कल्पना सिंह,बालक मिलन सिंह कवि सिंह र झुमझुम लामा रहेका छन् । घाइतेमध्ये कल्पना सिंह र झुमझुम लामाको अबस्था गम्भीर भएको डाक्टर टसी याङ्जु लामाले बताउनुभयो ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को लाग्नामा होटेल ब्यबसाय गर्दै आएकी ढुकीका श्रीमान गुरु तामाङ्ग हेक्पा खोलामा बिरामी भएको खवर आएपछि श्रीमानलाई लिन सिमकोटमा रहेको बोलेरो जीप झिकाएर हेक्पा खोलाबाट सिमकोट ल्याउने क्रममा थाहामा दुर्घटना भएको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
बालुवा माटो भएको सडक निक्कै भासिएको घटना स्थल पुग्नुभएका सरोज रावतले बताएका छन । उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेना , राष्ट्रिय अनुसन्धान, स्थानीय बासिन्दाहरु पैदल हिडेर एक घण्टामा घटना स्थल पुगेर उद्धार गर्नुभएको थियो । घाइते ७ जना मध्य टाउकोमा चोट लागेका कविन्द सिहलाई जिल्ला बाहिर रिफर गरिएको भए पनि अन्यको अवस्था जटिल नभएको जिल्ला स्वास्थ्य कार्यालयकी सिनिएर अनमी शरिता बोहोराले बताएकि छन् ।