मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा (१) मा कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तर भन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानी जानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा विगार्न वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनको नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन कानूनले वन्देज लगाएको छ ।
सोही संहिताको दफा २ सय ७३ को उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना हुनेछ व्यवस्था रहेको छ । उपदफा (१) बमोजिम बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत हुनेछ भन्ने उल्लेख गरिएको छ ।
सोही संहिताको दफा २ सय ७४ मा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपट पूर्ण प्रयोग गर्न नहुने भनिएको छ। कसैले कुनै व्यवसाय, कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्नु पर्दा कानून बमोजिम त्यस्तो साधनको चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तर भन्दा घटी बढी हुने गरी कपट पूर्ण रुपमा प्रयोग गर्न, अर्को कुनै साधन वा उपायको मद्दतले त्यस्तो साधनको चलनचल्तीको नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुरामा प्रतिकूल प्रभाव पार्न हुँदैन भनिएको छ ।
सो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना हुनेछ भनिएको छ । यसको हदम्याद थाहा पाएको मितिले ३ महिना रहेको छ ।