हुम्ला
जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई ‘परपुरुषसँग लागेको’ आरोपमा उनका श्रीमान् सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म” दुर्व्यवहार गरिएको र दिसा समेत खुवाइएको पाइएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताएका छन ।
उनका श्रीमान् सहित ७ जनालाई पक्राउ गरिएको हो।”पीडित महिलाले आफूलाई पर पुरुषसँग लागेको आरोप लगाउँदै दिसा खुवाएर कपाल खौरनुका साथै कालो मोसो दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको बताएकी छन्।गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर दुर्व्यवहारमा परेका व्यक्तिको उद्धार गरेको र घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उद्धार गरेर ल्याइएका पीडितलाई हुम्ला सदरमुकाम सिमकोटमा राखिएको र दोषीलाई कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए।पीडित पक्षका परिवारले ती महिलालाई अब बुहारीको रुपमा स्वीकार गर्न नसक्ने भनिएको छ।
घटनाका प्रत्यक्षदर्शी तथा सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्य समेत रहेका विनोद विकले कपाल खौरेर कुटपिट भएको तर दिसा भने नखुवाएको बताएका छन्।उनले “पीडित महिलाका श्रीमान्ले रिसको आवेगमा आएर आफ्नी श्रीमती र उनीसँग सम्बन्ध भएका व्यक्तिलाई कुटपिट गरेर गाउँ निकाला गरिएको स्वीकार गरेको” बताए । आफूहरूले झगडा मिलाउन खोजेपनि गाउँघर र पीडित महिलाका परिवारका कसैले पनि पुन: बुहारीको रुपमा स्वीकार गर्न नमानेको उनको भनाइ छ।”पीडित महिलाका छोरा छोरीलाई हजुरआमाको साथमा राखिएको पनि उनले बताए ।